उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।
प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिएका हुन्।
बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पुर्याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उनले बताएका छन्।
त्यस्तै, बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्नेस बालबालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए।
उनले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए।
उनले मुलुक संकटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको उल्लेख गरे।
सो क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकार गम्भीर भएर लागेको बताएका थिए। त्यस्तै, प्रधानमन्त्रीसँग अन्य राजनीतिक लगायतका विषयमा सकारात्मक छलफल भएको घिसिङले बताए।












