कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टेलिभिजन शृङ्खला ‘हल्का रमाइलो’ र ‘जुठे’ का कलाकार टोली केही दिनयता बेत्रावती क्षेत्रमा सक्रिय रूपमा खटिएको छ।
भोटेकोशी बाढी प्रभावितहरूलाई राहत वितरण गर्न र पहिरो तथा लेदोमा पुरिएकाहरूको उद्धार कार्यमा उनीहरू जुटेका हुन्।
नुवाकोटका विभिन्न स्थानमा राहत बाँडेपछि उनीहरूको टोली रसुवातिर लागेको हो। राहत वितरणसँगै बल्छी धुर्बेसहितको टोलीले प्रहरी र उद्धारकर्ताहरूसँग मिलेर शनिबार बेत्रावतीमा ६४ वर्षीया वृद्धा चन्डिका श्रेष्ठको उद्धार गरेको थियो। आफू पनि बेल्चा समातेर लेदो फाल्ने काममा जुटेको बल्छी धुर्बेले जानकारी दिएका छन्।
बल्छी धुर्बेसहितको टोली आफ्ना धारावाहिक शृङ्खलाहरूको छायाङ्कन नै रोकेर पीडितको राहत तथा उद्धारमा निरन्तर लागिरहेको छ। देशमा विपद् र दुःख परेका बेला आफूलाई व्यक्तिगत काममा लाग्न नैतिकताले नदिने श्रेष्ठले बताएका छन्।












