राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ।
महोत्तरी जिल्लाबाट शनिवार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिवार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए। उनले शनिवार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे।
सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को गोडैता र बलरा भएर बागमती नदी पार गरी रौतहट जिल्लामा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ।
जनताको आवाज सुन्ने, राष्ट्रिय एकता, सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले मेची–महाकाली हुलाकी सडक पदयात्रा सञ्चालन गरेको सांसद सिंहले बताए।
उक्त अभियानका क्रममा सर्लाहीमा साथ, सहयोग, समर्थन तथा आत्मीय स्वागत गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं आम जनसमुदायप्रति सांसद सिंहले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।
यसैबीच, शनिवार साँझ मलङ्गवामा सांसद सिंहलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका चार जना रिहा भएका छन्। उनीहरूलाई गएराति मध्यरातमा प्रहरीले छाडेको हिन्दु सम्राट सेनाका नेता कृष्ण यादवले जानकारी दिए।
सांसद सिंहले हिन्दुविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले उहाँलाई कालो झण्डा देखाएका थिए। सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो।












