अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।

समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए।

अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने नघटेको उनको भनाइ छ। अत्यधिक चिसोका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ। अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन्।

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ। चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ। समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ। यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन्। विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ।

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ।