उदयपुरको बेलका नगरपालिकामा श्रीमानले श्रीमतीमाथि छुरा प्रहार गरी हत्या गरेका छन्।
आइतबार बिहान करिब ८ बजे बेलका–३ किरात चोकका ३० वर्षीय खगेन्द्र राई र २७ वर्षीया गंगा राई (भावना) बिच सामान्य विवाद हुँदा खगेन्द्रले श्रीमतीमाथि धारिलो छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई आक्रमण गरेपछि खगेन्द्रले सोही छुरा आफ्नो शरीरमा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। उनलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए।
हाल खगेन्द्रको सोही अस्पतालमा प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ।




















