धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो। पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो। प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा बिहानैदेखि प्रदर्शन भएको थियो। प्रदर्शनकारीले जनकपुर घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्। अल्पसंख्यक समुदायमाथि आक्रमण गर्न नपाइने भन्दै उनीहरूले नाराबाजी समेत गरेका थिए।




















