पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन्।
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा मेयर आचार्यले ध्यानाकर्षण गराएका छन्। मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईँको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो।’
‘यदि तपाईँको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन्।
उनले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन्।
मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन्।




















