अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर गाडीहरूसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई त्यहाँको ट्रमा सेन्टरमा भर्ना गरिएको छ। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विमानले धावनमार्ग छाडेर नजिकैका गाडीलाई टक्कर दिएपछि भीषण आगलागी भएको थियो।
दुर्घटना लगत्तै ६० भन्दा बढी उद्धार टोली घटनास्थल पुगेका थिए। गाडीभित्र चेपिएका यात्रुलाई उद्धार टोलीले बाहिर निकालेको थियो भने विमानका पाइलटलाई उद्धार गरी उपचारका लागि पठाइएको छ।
‘फ्लाइटराडार २४’ को तथ्यांक अनुसार बोइङ ७६७ मोडलको उक्त विमान धावनमार्गबाट बाहिरिँदा प्रतिघण्टा करिब १३० माइलको गतिमा थियो। विमान के कति कारणले रोकिन नसकेको हो भन्नेबारे अनुसन्धान भइरहेको मियामी प्रहरीले जनाएको छ।












