आगामी भदौ २९ गते सोमबार पर्न गएको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै तीजका दिन व्रतालु तथा दर्शनार्थीहरूलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको जनाएको छ।
यस वर्ष पनि विगतझैं कुनै पनि प्रकारको विशेष पूजा तथा विशेष दर्शन पासको व्यवस्था नगरिएको कोषले स्पष्ट पारेको छ।
दर्शनार्थीहरूलाई छिटो र सहज ढंगले दर्शन गराउन मन्दिरका उत्तर, पूर्व र दक्षिणतर्फका ढोकामा पारदर्शी जाली राखिनेछ। परिसर बाहिर पाँचवटा र भित्र आठवटा लाइनको व्यवस्था गरिनेछ, जसबाट एकपटकमा आठ जनाले सहजै दर्शन गर्न सक्नेछन्।
भीडभाडलाई व्यवस्थित बनाउन विभिन्न दिशाबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै चारवटा दर्शन मार्ग निर्धारण गरिएको छ। मित्रपार्क-उमाकुण्ड, गौशाला-जयबागेश्वरी, सिनामंगल-तिलगंगा र पिंगलास्थानतर्फबाट आउने दर्शनार्थीहरूलाई विभिन्न अस्थायी आकाशे पुल तथा र्याम्प प्रयोग गरी मन्दिर परिसर प्रवेश गराइनेछ।
पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले एकीकृत सुरक्षा योजना लागू गर्नेछन्। पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सादा पोसाकमा प्रहरी टोली परिचालन गरिनेछ।
महिलाहरूको विशेष पर्व भएकाले निश्चित कोर क्षेत्रभित्र पुरुषहरूको प्रवेशमा रोक लगाइनेछ भने नियमित पुरुष दर्शनार्थीहरूले बिहान ५स्३० बजेभित्रै दर्शन गरिसक्नुपर्नेछ।
पशुपति क्षेत्रभित्र मांस, मदिरा तथा नशाजन्य पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ भने स्थानीय बासिन्दाका लागि वडाबाट जारी पासका आधारमा आवतजावतको व्यवस्था मिलाइने कोषले जनाएको छ।












