नेपालमा भएको जेनजी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन गुरुङ र रवि किरण हमालले भदौ २७ को घटनालाई लिएर बिल्कुल फरक धारणा सार्वजनिक गरेका छन्।
गुरुङले भदौ २७ लाई राजनीतिक अन्योल र शक्ति रिक्तताबाट देशलाई निकास दिने ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन् भने हमालले त्यही दिनलाई “देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन”का रूपमा चित्रण गरेका छन्।
भदौ २३ पछिको अवस्था अभूतपूर्व राजनीतिक संकटको अवस्थामा पुगेको गुरुङले बताएका छन्। स्थापित राजनीतिक नेतृत्वप्रतिको जनविश्वास भत्किएको, पुरानो नेतृत्व स्वीकार्य नभएको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नरहेको उनको भनाइ छ।
उनका अनुसार लगातार तीन दिनसम्म देश कहाँ जाने, अब कसले निकास दिने र कसको नेतृत्वमा आफूहरू सुरक्षित महसुस गर्न सकिन्छ भन्ने प्रश्नमा अल्झिएको थियो।
देश राजनीतिक अन्योल र ‘पावर भ्याकुम’मा पुगेको उल्लेख गर्दै गुरुङले आफू नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य सञ्चालन हुनुपर्ने पक्षमा उभिएको बताएका छन्।
भदौ २७ मा राष्ट्रपति कार्यालय पुगेको प्रसंग स्मरण गर्दै गुरुङले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको तथा पानीसमेत नपिई करिब नौ घण्टा प्रतीक्षा गरेको बताएका छन्। बाहिर सिंगो देशले राजनीतिक निकासको प्रतीक्षा गरिरहेका बेला आफूहरू देशलाई खाली हात फर्काउन नहुने अडानमा रहेको उनको भनाइ छ।
अन्ततः सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको र देशले निकास पाएको अनुभूति भएको गुरुङले बताएका छन्।
तर, जेनजी आन्दोलनका अर्का अगुवा रबी किरण हमालले भने भदौ २७ लाई बिल्कुल फरक ढंगले व्याख्या गरेका छन्।
हमालका अनुसार भदौ २७ “देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन” हो। उनले त्यस दिनदेखि “जेनजी आन्दोलन मात्र हारेको थिएन, सिङ्गो देश हारेको थियो” भन्ने दाबी गरेका छन्।
त्यसबेला सुरक्षा निकाय, निजामती प्रशासन र आन्दोलनकारीसमेत निरीह बनाइएको हमालको भनाइ छ। त्यही परिस्थितिलाई बुझेर आफूले सुरक्षा निकाय, निजामती प्रशासन र राष्ट्रपति कार्यालयसमक्ष शपथ रोक्न आग्रह गरेको उनले बताएका छन्।
“अन्तिम क्षणसम्म हामीले रोक्न सकिन्छ कि भनेर प्रयास गर्यौँ। तर हामी सकेनौँ,” हमालले भनेका छन्।
भदौ २७ मा आफूहरूले प्रयास गरे पनि सफल हुन नसकेको घटनालाई व्यक्तिगत असफलताका रूपमा नलिएको हमालले बताएका छन्। समयले क्रमशः त्यसबेलाको वास्तविकता पुष्टि गर्दै जाने उनको दाबी छ।
हमालले जेनजी आन्दोलन त्यसबेला पराजित भए पनि आन्दोलनले उठाएका प्रश्न, आवाज र संघर्ष भने पराजित नभएको बताएका छन्।
“इतिहासले एक दिन सोध्नेछ—देश जलाएर, हिंसा भड्काएर सत्ता कब्जा गर्दाखेरि कसले रोक्ने प्रयास गर्यो र कसले मौन बसेर सत्ता स्वीकार गर्यो?” उनले भनेका छन्।
भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाबाट आएका यी फरक धारणाले आन्दोलनपछिको राजनीतिक संक्रमण र त्यस दिनको भूमिकाबारे रहेको मतभिन्नतालाई समेत सतहमा ल्याएको छ।
गुरुङका लागि भदौ २७ कठिन परिस्थितिबीच देशलाई निकास दिने आवश्यक राजनीतिक हस्तक्षेपको दिन हो भने हमालका लागि त्यो जेनजी आन्दोलन र सिङ्गो देशले राजनीतिक रूपमा हार व्यहोरेको दिन हो।












