त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ परेका छन्। प्रहरीले थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका एक भारतीय नागरिक र सोही उडानबाट बङ्गलादेश हुँदै आएका २ जना नेपालीलाई विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेन गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन्।
उनीहरूको साथबाट सो परिणामको गाँजासहित ३ थान पासपोर्ट र ३ थान मोबाइल समेत बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। उनीहरुले एयर ड्रायर र बिस्कुटको बट्टाभित्र राखेर गाँजा ल्याएको समेत प्रहरीले जनाएको छ।
पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको समेत ब्युरोले जनाएको छ।












