नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको बताउँदै धेरै लामो समय नटिक्ने बताएका छन्। एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने ओलीको भनाइ छ।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए।
‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला। अहिले फेरि रोक्ने कोसिस भइरहेको छ।’ ओलीले अबको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समयका लागि टिक्न नसक्ने भन्दै राणा र शाही शासनको उदाहरण दिए। ‘अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्’, ओलीको भनाइ छ।












